NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८

परिचय तथा पृष्ठभूमि

नेपालको संविधानको धारा ३५ (१) बमोजिम प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ ले तोकेको प्रावधानअनुसार सबै नागरिकलाई गुणस्तरीय, सुलभ र समान स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले, नेपालको संविधान २०७२ अनुरूप भएको संघीय संरचनामा प्रदेश सरकारको मातहत जिल्लास्तरमा जनस्वास्थ्य कार्यालय/स्वास्थ्य कार्यालयहरू स्थापना गरिएको हुन्छ । यी कार्यालयहरू स्वास्थ्य नीतिहरूको प्रभावकारी कार्यान्वयन, जनस्वास्थ्य कार्यक्रमहरूको समन्वय, अनुगमन तथा मूल्यांकन, स्थानीय तहसँगको सहकार्य, समुदायमा आधारित स्वास्थ्य सेवा प्रवर्धन तथा स्वास्थ्य सुरक्षासम्बन्धी गतिविधिहरू सुदृढ गर्न मुख्य निकायका रूपमा जिल्लास्तरमा सञ्चालनमा रहेका हुन्छन।


नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै लागू भएको संघीय शासन व्यवस्थाअनुसार नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवगठित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा स्वास्थ्य कार्यालयको संरचना नहुँदा, आवश्यक संस्थागत व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.पूर्व) को स्थापना २०७४ साल पुष २४ गते गरिएको हो । स्थापनाको समयमा यस कार्यालयको प्रमुख भूमिका श्री शम्भु प्रसाद ज्ञवालीज्यूले गर्नु भएको थियो । स्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को नाममा स्थापित यस कार्यालयको नाम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१/०८/१७ को निर्णयअनुसार संशोधन भई हाल "प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)" राखिएको छ।


गण्डकी प्रदेश सरकारको मातहतमा रही संचालनमा रहेको यस प्रदेश जनस्वास्थ्य कार्यालय, गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ को मर्म अनुसार गण्डकी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको मातहतमा रही जनस्वास्थ्य कार्यक्रमहरूको योजना, समन्वय, कार्यान्वयन तथा अनुगमनसम्बन्धी कार्य सम्पादन गर्दछ।