जनहितमा जारी जनस्वास्थ्य सन्देश

जनहितमा जारी जनस्वास्थ्य सन्देश

हालै आएको बाढी तथा वर्षायामका कारण विभिन्न स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सम्पूर्ण जिल्लावासीमा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौं। प्रदूषित पानीबाट हुने झाडापखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिस A/E लगायतका रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गरौं। डेंगु, जापानी इन्सेफलाइटिस तथा सर्पदंशबाट बच्न घर वरपर पानी जम्न नदिऔं, झुल प्रयोग गरौं, लामो कपडा लगाऔं र राति हिँड्दा टर्च प्रयोग गरौं।

प्रदूषित नदी तथा खोलाको पानीमा पौडी नखेलौं र त्यहाँबाट प्राप्त माछा तथा जलीय जीवको सेवन नगरौं। खाना राम्रोसँग पकाएर मात्र खाऔं तथा बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगरौं। प्राकृतिक विपद्पछि मानसिक स्वास्थ्यको समेत ख्याल राखौं र आवश्यक परेमा निःशुल्क ११६६ मा सम्पर्क गरौं।

नदी तथा खोलाको किनारमा मानव शव वा मृत जीवजन्तु फेला परेमा सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई तुरुन्त जानकारी गराऔं। स्वास्थ्य समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा जाऔं र सम्भावित महामारी वा रोगको प्रकोप देखिएमा स्वास्थ्य संस्था, स्थानीय तह, प्रदेश जनस्वास्थ्य कार्यालय वा हेल्लो हेल्थ १११५ मा जानकारी गराऔं।